सर्वोच्चको आदेशलगत्तै डा. गोविन्द केसी अनसनस्थलबाटै पक्राउ

काठमाडौं २४पुस०७४/सर्वोच्च अदालतको मानहानीको आरोप लागेका प्राध्यापक डाक्टर गोबिन्द केसी सोमबार साँझ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परीसर काठमाडौंबाट खटिएको टोलीले केसीलाई त्रिवि शिक्षण अस्पतालस्थित अनसनस्थलबाटै पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका अपरेसन प्रमुख डिएसपी बसन्त रजौरे पक्राउ पुर्जी लिएर अनसनस्लथ पुगेका थिए ।
अदालतले केसीले सर्वोच्च अदालतको मानहानी गरेको भन्दै उनलाई पक्राउ गरेर मंगलवार ९ बजे अदालत उपस्थित गराउन आदेश दिएको थियो ।
त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन डाक्टर शशि शर्मालाई अदालतले पुनर्बहाली गर्न आदेश दिएसँगै केसीले अदालत मानहानी हुनेगरी अभिव्यक्ति दिएका थिए ।

मानहानी गरेको भन्दै सर्वोच्चका शाखा अधिकृत नेत्र पौडेलले सर्वोच्चमा सोमबार मुद्दा दर्ता गरेका थिए । सो मुद्दामा आजै न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले मानहानी गरेको ठहर गर्दै पक्राउ गरेर अदालतमा मंगलबार बिहान ९ बजे उपस्थित गराउन गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको थियो । केसी अदालतको आदेशविरुद्ध आजै अपरान्हदेखि १४ औं अनसनमा थिए ।