0 COMMENTS

काठमाडौं१८पुस०७४/ दुई सातासम्म ओरालो लागेको सेयर बजार सोमबार एकाएक ४४ दशमलव ३१ अंकले बढेको छ । लगातार बजार घट्दा दिक्क भएका लगानीकर्तामा केही आशा पलाएको सेयरमा लगानी गर्दै आएका प्रितमसागर कर्माचार्यले बताए । चुनावपछि स्थायित्व आउने आशमा लाखौं लगानी गरेर बसेका उनी बजार ओरालो लाग्दा दिक्क भएका थिए । ‘अब बजार उकालो लाग्छ कि भन्ने आशामा छु’, उनले भने ‘बजार बढ्दा उत्साह जागेको छ ।’

सोमबार नेप्से परिसूचक तीन दशमलव १८ प्रतिशतले वृद्धि भएर एक हजार चार सय ३४ दशमलव ८० बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन एक सय ६३ कम्पनीको ११ लाख ४१ हजार चार सय ६३ कित्ता सेयर कारोबार भएको छ ।कुल बजार पुँजीकरण तीन दशमलव १८ प्रतिशतले बढेर १६ खर्ब ६९ अर्ब पुगेको छ । यस दिन ‘क’ वर्गका कम्पनीको कारोबार मापन सेन्सेटिभ इन्डेक्स तीन दशमलव १५ प्रतिशतले बढेर तीन सय एक दशमलव ३२ अंक पुगेको छ ।कारोबार भएका कम्पनीले ४९ लाख ८४ हजार रुपैयाँभन्दा धेरैको सेयर किनबेच गरेका छन् । सोमबार अन्यबाहेक बाँकी सबै समूहका नेप्से परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै बिमा समूहको सूचक २७० दशमलव ८ अंकले बढेको छ ।

होटेल समूहको सूचक एक सय ११ दशमलव ५७ अंक, माइक्रोफाइनान्सको ६९ दशमलव ४७ अंक, जलविद्युत् कम्पनीको ५९ दशमलव ८ अंक र विकास बैंक ४५ अंकले बढेको छ । वाणिज्य बैंक समूहमा ४२ दशमलव ५२ अंकले तेजी आएको छ भने वित्त कम्पनी, उत्पादनमूलकमा पनि वृद्धि भएको छ।

सोमबार कारोबार रकममा स्टान्डर्ड चार्टर्ड बैंकले अग्रता लिएको छ । बैंकले दुई करोड ८८ लाख ६२ हजार रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको हो । कारोबार रकमकै आधारमा दोस्रो र तेस्रो स्थानमा क्रमशः प्रभु बैंक र नेपाल लाइफ इन्स्योरेन्स छन् । राष्ट्रिय बिमा कम्पनीको संस्थापक सेयर, चिलिमे हाइड्रोपावर, नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक, नेपाल बैंक र बुटवल पावर कम्पनीको एक करोड १२ लाखदेखि एक करोड ८६ लाखसम्मको सेयर किनबेच भएको छ। यो खबर आजको अन्नपूर्णपोष्टले छापेको छ ।

बजारमा लगानीयोग्य पुँजीको अभाव भएसँगै सेयर बजारले गति लिन सकेको थिएन । बैंकहरूले बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै ब्याजदरमा सीमा निर्धारण गरेपछि त्यसको सकारात्मक असर धितोपत्र बजार देखिएकोे हो । बैंक ब्याजदर बढ्दा सेयर बजारमा त्यसको प्रत्यक्ष असर परेको थियो । तर, आइतबार बैंकरहरूले तत्कालका लागि साढे १२ प्रतिशतभन्दा बढी ब्याजदर नबढाउने सहमति गरेका छन्।

सोमबार बजारमा अल्पकालीन लगानीकर्ता पनि थपिएका छन् । सेयर मूल्य घटेका बेला खरिद गरेर बढ्दा बिक्री गर्ने लगानीकर्ता बढेको नेपाल ब्रोकर्स एसोसिएसनका एक पूर्वअध्यक्षले बताए । सेयर मूल्य कम भएको मौका छोपेर साना, नयाँ वा ठूला सबैखाले लगानीकर्तालाई सेयर किन्ने आँट बढेको छ । सस्तोमा किनेर बढी मूल्यमा बिक्री गरी बढी नाफा गर्ने दाउमा लगानीकर्ता छन् । बजारमा बैंक र बिमा कम्पनीको सेयर आपूर्ति अधिक छ । पुँजी वृद्धि गरिएकाले बजारमा आपूर्ति धेरै भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।