युरोपबाट विद्यालयलाई नौ लाख बढी सहयोग

 काठमाण्डाै१७पुस०७४/ बेनी नगरपालिका–३ भकिम्लीको जयन्ती माविको निर्माणाधीन अवस्थामा रहेको ३० कोठे भवन निर्माणमा युरोपमा रहेका भकिम्लीवासीले रु नौ लाखभन्दा बढी आर्थिक संकलन गरेर पठाएका छन् । भकिम्ली स्थायी घर भई विगत लामो समयदेखि स्पेनको बार्सिलोनामा बसोबास गर्दै आएका सन्तबहादुर क्षेत्रीको संयोजकत्वमा रु नौ लाख ३७ हजार ३६० संकलन भएको हो ।

एनआरएन युरोप संयोजक कुल आचार्यलगायत युरोपका विभिन्न देशमा रहेका गैरआवासीय नेपालीले सहयोग गर्नुभएको थियोे ।

करिब रु तीन करोडको लागतमा निर्माणाधीन अवस्थामा रहेको भवनमा जिल्ला शिक्षा कार्यालयबाट रु १९ लाख ५० हजार आर्थिक सहयोगबाहेक अन्य चन्दासहित विभिन्न कार्यक्रम गरी संकलन भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम पुनले बताउनुभयो ।

जिल्लाकै पुरानो विद्यालय भए पनि राज्यस्तरबाट अपेक्षाकृत सहयोग नपाएपछि स्थानीयवासीकै सक्रियतामा शुरु भएको भवन निर्माणमा गाउँलेले समेत क्षमताअनुसार सहयोगसहित जनश्रमदान गरेका छन् ।