0 COMMENTS

तेह्रथुम, ५ पुस०७४/ आठराई गाउँपालिका–७, थोक्लुङका रामप्रसाद तिम्सीनाले दुई वर्षदेखि अदुवाबाट मनग्य आम्दानी गर्दैआउनुभएको छ । गत वर्ष उहाँले प्रतिकिलो रु ५० का दरले बीउ किनेर पाँच रोपनी जमिनमा अदुवा रोप्नुभयो । तर सोचेजस्तो मूल्य नपाएपछि तिम्सीनाले उत्पादनको केही प्रतिशत मात्रै बिक्री गर्नुभयो । बाँकी अदुवा पुनः बारीभरि रोप्नुभयो । यसपालि पनि अदुवाको उचित मूल्य नपाएपछि उहाँ चिन्तामा हुनुहुन्छ ।

अघिल्लो वर्षको जस्तो मूल्य पाएको भए उहाँले यस वर्ष रु आठ लाखभन्दा बढी आम्दानी गर्नुहुन्थ्यो । तर तिम्सीनालाई लगानी उठाउन धौ–धौ परेको छ ।

फेदाप गाउँपालिका–३, जलजलेका डोरनारायण ढुंगानाले यसपालि मूल्य पाउने आशामा ४० क्विन्टलभन्दा बढी अदुवा फलाउनुभयो । तर अदुवाको मूल्य घटेपछि उहाँले पनि सोचेजस्तो आम्दानी लिन सक्नुभएको छैन । उत्पादित अदुवाले उचित मूल्य नपाउँदा तिम्सिना र ढुंगाना जस्ता धेरै अदुवा किसान मर्कामा परेका छन् ।

अदुवाको बिक्रीमा व्यापक गिरावट आएपछि किसानको लगानी डुब्ने अवस्था सृजना भएको छ । रुखो, पाखो जमिनमै पनि थोरै मिहेनत गर्दा अदुवा फलाउन सकिन्छ । किसानले अदुवा थोरै रोपेर धेरै फलाउन सकिने, कम मिहेनत पर्ने, मकै, कोदोभन्दा कम मिहेनत गरेरै पर्याप्त आम्दानी गर्न सकिने उपजका रुपमा लिन्छन् । किसानले यीनै कारणले पनि निरन्तर अदुवा खेती गरिरहेका छन् । तर एक–दुई वर्षकै अन्तरमा अदुवाको बजारमा समस्या आउँदा उनीहरु चिन्तित छन् । यस वर्ष अदुवाको मूल्य प्रतिकिलो रु २० मात्रै रहेको छ । दुई वर्षअघि व्यापारीले किसानको बारीमै गएर प्रतिकिलो रु ७० मा लगाएको अदुवाको मूल्य पछिल्ला वर्षमा वृद्धि भएको छैन ।

अदुवाको मूल्य घटेपछि यस वर्ष लगानी नै गुम्ने खतरा भएको किसान बताउँछन् । “अदुवामा गरिएको लगानी यस वर्ष सबै डुब्ने भयो,” ढुंगानाले भन्नुभयो, “दश क्विन्टल बीउ मकै र कोदो फल्ने बारीमा रोपेको थिएँ, यसपटक पनि डुबिएला जस्तो छ ।”

यस वर्ष प्रतिकिलो रु २० का दरले २५ क्विन्टल अदुवा बेचेको आठराई गाउँपालिका–४, इवाका गोपाल मैनालीले बताउनुभयो । “मूल्य झन् घट्ने हो कि भन्ने डर भयो, मैले त थोरै भए पनि त्यतिमै दिएँ,” उहाँले भन्नुभयो । गत वर्ष कतिपय किसानले अदुवाको भाउ पर्खिंदा–पर्खिंदै बारीमा कुहाएका थिए ।

गत वर्ष जिल्लाका बजारमा अदुवा प्रतिकिलो रु १२ देखि रु १८ सम्ममा मात्रै कारोबार भयो । एक वर्ष घट्ने र अर्को वर्ष बढ्ने आशा किसानमा थियो । तर अदुवाको मूल्य बढ्नुपर्ने समयमा बिक्री हुनै गाह्रो भएपछि जिल्लाभरका किसान मर्कामा परेका छन् । जिल्लामा अलैँची पछि सबैभन्दा धेरै उत्पादन हुने र आम्दानी हुने नगदे बाली अदुवा हो । कम मिहेनत गर्दैमा मनग्य आम्दानी लिन सकिने भन्दै खाद्यान्न बाली छाडेरै अदुवा खेती थालेका किसान बजार भाउ नपाउँदा खेतीबाटै निरुत्साहित बनेका छन् ।

यस वर्ष विगत वर्षभन्दा बढी अदुवा उत्पादन भए पनि मूल्य नपाएकाले आगामी वर्ष अदुवाको उत्पादन घट्ने निश्चित जस्तै देखिएको व्यापारी दुर्गानारायण भण्डारीले बताउनुभयो । “मैले यस वर्ष करिब २५० टन अदुवा खरिद–बिक्री गरेँ”, उहाँले भन्नुभयो, “मूल्य नपाउँदा धेरैले बीउ नै नराखी बेचेका छन् ।”

जिल्लाका धेरै किसानले अदुवाको बजारीकरण गरिदिन अनुरोध गरेका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो । यहाँ उत्पादित अदुवाको प्रमुख बजार भारत हो । भारतीय बजारबाट यस वर्ष माग थोरै मात्रामा आएकाले पूर्वी पहाडमा उत्पादित अदुवाले बजार र मूल्य नपाएको घिमिरेले बताउनुभयो ।

अदुवा बिक्रीका लागि भारतीय बजारमा भर पर्नुपर्ने अवस्था छ । यहाँ उत्पादित अदुवा भारतको सिलगुढी, नक्सालबारीलगायत बजार लगिन्छ । त्यहाँ पु¥याएर नेपाली अदुवालाई धुलाई गरिन्छ । धुलाई गरेपछिको राम्रो अदुवाको मूल्य मात्रै किसानले पाउने गरेका छन् ।

जिल्लाका धेरै किसानले अदुवा खेतीका लागि साहु, बैंक, सहकारी संस्था र गाउँघरका समूहबाट ऋण लिएका छन् । अघिल्लो वर्षको मूल्य देखेर अदुवा खेतीमा लागेका किसानले यसको बिक्रीबाट लिएको ऋण र त्यसको ब्याजसमेत बुझाउन सक्ने स्थिति देखिएको छैन । अदुवा खेतीमा आफूले खटेको परिश्रमको मूल्य नपाउने भएपछि निराश भएका छन् । उनीहरूको अदुवा खेतीप्रतिको लगाव घट्ने भएको छ ।

जिल्लामा यस वर्ष एक हजार ६७ हेक्टर क्षेत्रफलमा व्यावसायिक अदुवा खेती गरिएको कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष जिल्लामा उत्पादित अदुवा भारत, बंगलादेश हुँदै तेस्रो मुलुकतर्फ निकासी भएको थियो । यस वर्ष अदुवाले यी मुलुकमा बजार नपाएपछि तेह्रथुमसहित धनकुटा, संखुवासभा, इलाम, पाँचथरलगायतका जिल्लामा उत्पादन भएको अदुवा बारीमै उम्रिने भएको छ ।– प्रकाश धौलाकोटी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।