0 COMMENTS

बेनी, म्याग्दी, २६ मंसिर ०७४/ आफ्नो गाउँघर र स्वदेशमा कुनै सम्भावना नै नदेख्ने र वैदेशिक रोजगारीका लागि विदेश जान मरिहत्ते गर्ने युवाका लागि म्याग्दीको सिंगा गाउँका युवा उदाहरण बनेका छन् ।

बेनी नगरपालिका वडा नं ४ सिंगाका युवाले गाउँमा पशुपालन गरेर दूध बिक्रीबाट मात्र वार्षिक रु एक करोड कमाउन थालेपछि सिंगाको चर्चा अहिले जिल्लाभरि हुन थालेको छ । सिंगा गाउँबाट मात्रै वार्षिक करिब रु एक करोडको दूध निर्यात हुने गरेको छ ।

दूध बिक्री गरेर मासिक प्रतिव्यक्ति रु ४० हजारदेखि रु एक लाखसम्म कमाउने गरेका सिंगाका नवराज पौडेलले बताउनुभयो ।खाडी मुलुक कतारबाट फर्किए पछि गाउँमै भैँसी खरिद गरी दूध बेच्न थालेका बेनपा–४ का मनबहादुर खत्रीले दूध बिक्रीबाट अहिले मासिक रु एक लाखभन्दा बढी कमाउन थालेको जानकारी दिनुभयो । उहाँले २०६८ सालमा रु एक लाख लगानीमा दुईवटा भैँसी खरिद गरेर दूध बेच्न थाल्नुभएको होे ।
दूधबाट राम्रो आम्दानी देखेपछि केसीले अहिले छवटा भैँसी र एउटा उन्नतजातको जर्सी गाईबाट दैनिक ७० लिटर दूध बजारमा लैजाने गर्नुभएको छ । केसीमात्रै होइन गाउँका ३० जना युवाले व्यावसायिकरुपमा दूध बिक्री गरेर घरमै बसीबसी प्रतिव्यक्ति मासिक रु एक लाखभन्दा बढी कमाइ गर्दै आएका छन् ।

गाउँमा जनभावना दुग्ध सहकारी संस्था स्थापना भएपछि घर–घरमा व्यावसायिक पशुपालनका लागि प्रोत्साहित गरिएको छ । सहकारीमार्फत ३०० र किसानले व्यक्तिगतरुपमा १५० लिटर दूध बजारमा पु¥याउने गरेको सहकारीका सञ्चालक कोपीलाल पौडेलले बताउनुभयो । “एक करोड त हिसाबै देखिन्छ । योभन्दा धेरै बिक्री हुन्छ”, पौडेलले भन्नुभयो । बजारमा प्रतिलिटर रु ८५ सम्म बिक्री हुने भए पनि किसानले भने रु ६५ प्रतिलिटरमा सहकारीलाई दूध बेच्दै आएका छन् ।

गाउँबाट एउटै किसानले दैनिक ५५ लिटरसम्म दूध बेच्ने गरेका छन् भने करिब ४२ घरमा व्यावसायिकरुपमा गाईभैँसी पालिएको छ । पशु सेवा कार्यालयबाट नमूना सहकारीको पुरस्कारसमेत प्राप्त गरेको सहकारीले संकलन गरेको दूध बजार लैजान कर्मचारीसमेत परिचालन गरेको छ । सहकारीमार्फत दूध बेच्ने किसानका नाममा सहकारीकै खातामा पैसा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले लगानीसमेत गर्ने भएकाले पनि किसान सहकारीको अभियानमा आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।