मेरा माटाका विम्बहरू

अग्ला अग्ला गिरिवर जहाँ व्योममा माथ चढ्छन्
छाँगा सेता झरझर जहाँ बैँसका चाल चल्छन्
काखी च्याप्छन् हरपल जहाँ लेक लालीगुराँस
चल्ने हावा मलय छ जहाँ बोक्छ मीठो सुवास ।१।

इन्द्रेणीका कुसुम धनुमा रंगका छन् मिलाप
ओर्ली ओर्ली दिनकर जहाँ तालमा मेट्छ ताप
ऐना बन्दै जल लहरले चित्र खिच्छन् अपार
लाखौँ तारा -गणसित मिली लोक खुल्छन् मुहार ।२।

नाच्ने खेल्ने हरिण पद छन् , कोयली छन् गलाका
डाँफे साथै मुजुर तन छन् रंग भर्ने थलाका
शिल्पी चोखा सृजन करले प्राण भर्छन् कलामा
पाला बल्छन् झलझल जहाँ ध्यान हुन्छन् शिलामा ।३।

मौरीलाई रसतिर खिची भाव उल्लास छाई
पार्छन् बग्दै नहर र कुला उर्वरा फाँटलाई
छन् यात्रीका जलन पथमा स्निग्ध छाया अपार
तिर्खा मेट्ने नजिक नजिकै मूल छन् प्राण सार ।४।

सर्दै सर्दै मृदुल लहरा च्याप्प हाल्छन् अँगालो
कुर्ली कुर्ली ढुकुर दिलका प्रेम चढ्छन् उकालो
माया गाँस्ने तरुण वयका पातका छन् सुसेली
भेट्दा साट्छन् मधुर सपना गीतमा कण्ठ घोली ।५।

सारंगीका सुर लहरमा लोकले थप्छ लोली
मेला भेला रनवन जहाँ मादले खान्छ ताली
भाषा मीठा लवज रसिला मान मुस्कान रेली
आई खेल्छन् सरर मुरली बाँसुरीमा सुरेली ।६।

खोला बाटा फनफन जहाँ चित्र छन् नागबेली
खेल्दै छाया -छविसित जहाँ लठ्ठिँदा छन् परेली
चढ्छन् झर्छन् प्रतिपल जहाँ पाइला लेक बेँसी
हुन् माटाका अटल भर यी स्वप्न छैनन् विलासी ।७।

सड्०लो धारा कलकल जहाँ खोज्छ नौलो जवान
अर्पे सच्चा बल सबलले बल्छ तारा समान
माली बन्दा नरम करले दूर छैनन् पराग
कस्तूरीझैँ विचलित बने भागमा छन् अभाग ।८।

सुन्गाभाका अनुपम कला फुल्दछन् बारबार
अग्लो छाती विकट पथमै सृष्टिको बोक्छ भार
ढाक्दै जाओस् जति तिमिरले स्वच्छ आकाशलाई
भर्छन् ज्योत्स्ना टहटह बनी जून एक्लै उदाई ।९।

बोक्ला ज्वाला कति समयले उग्र उत्पात छाई ?
थाम्ला बाढी कति समयले छाल उल्का उठाई ?
पर्खी हेर्दा लुरुलुरु कुना पस्दछन् यी रजाइँ
के रोक्ला खै ! शिशिर ऋतुले फक्रने पुष्पलाई ?१०।

फन्को मार्दै गगन तलका देशका देश हेरौँ
भेटी नौला जल थल सबै विश्वलाई निहारौँ
फर्केजस्तै विहग वनमै फुर्फुराएर खेल्न
फर्कौँ हामी मन र मुटुको मृत्तिका चप्प चुम्न ।११।

(छन्द : मन्दाक्रान्ता)

(सत्ताका किनाराहरू – कवितासंग्रह – २०७० बाट साभार )