जगत् चिडियाखाना-तीर्थराज अधिकारी

पर्खालमा छन् अझ तार जाली
छ बन्द बाटो तन छैन लाली
चरा यहाँ छन् बिचरा बनेका
छन् प्वाँख के भन्नु र कक्रिएका ? १।

छन् बाघ नंग्रासित नै गलेका
छन् सिँह उस्तै चितुवा ढलेका
हुन् भालु वा स्याल कि वा बिराला
हुँडार होऊन् सब छन् निराला !२।

देखिन्न केही गजराज काज
छ दिक्क एक्लै मनको निराज
निष्प्राणजस्तै अझ सर्प ,गोही
देख्लान् कहाँ सुन्दर स्वप्न केही ?३।

हिलो र मैलो ढलको उपर्ना
ओढेर सुत्छन् दिनरात अर्ना
चिनिन्न गैँडा मलमा छ डल्लो
जता दियो दृष्टि उतै छ खल्लो ! ४।

कडा लिओस् तीर तथापि दुम्सी
कुनातिरै लत्रिरहेछ गुम्सी
न वानरै चंचलको छ खेल
रच्छन् विधाता किन जालझेल ?५।

छेवै परे दर्शक आश गर्छन्
मुन्टो उठाई मन ताप भर्छन्
ऋणी बनाईकन मिर्गलाई
को खेल्न आयो जगमा रमाई ?६।

आहालमा हाँस कता रमाऊन् !
सफा कहाँ यी जल भेट्न पाऊन् !
छ नाम घोडा वनपालुवाको
हो बास कस्तो जड बालुवाको ?७।

छ के यहाँ ? जीवन छैन सास
अव्यक्त बाधा सब छन् उदास
हो चेतनाको कुन यो कमाइ ?
आनन्द कस्तो चिडिया समाई ?८।

होला यहाँको कुन शोक बुझ्ने ?
होला यहाँको कुन भोक बुझ्ने ?
बोल्ने कराए अधिकार पाए
लाटा बने यी अनि मार खाए !९।

धिक्कारजस्तो अभिसारजस्तो
प~यो यिनैमा किन वज्र यस्तो ?
भेटिन्न केही अपराध कर्म
यी मान्न आए कुन दैव धर्म ?१०।

जन्जालको जाल बनाउने को ?
स्वतन्त्र यी प्राण ढलाउने को ?
उद्दण्डमा दण्ड दिलाउने को ?
बोल्यो यहाँको अधिकारमा को ?

(छन्द : उपजाति )

(साभार: सत्ताका किनाराहरू – कवितासंग्रह – २०७० बाट)