0 COMMENTS

बेसीशहर१४, मङ्सिर०७४/ लमजुङमा यस वर्ष सुन्तला उत्पादनमा ह्रास आएको छ । सामान्य वर्षको तुलनामा यस वर्ष २५ प्रतिशतले सुन्तला उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गतवर्ष जिल्लामा पाँच हजार २७४ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले रोग कीराका कारण सुन्तला बगैँचा मासिदै गएकाले उत्पादनमा कमी आएको बताउनुभयो । सुन्तला उत्पादनमा देशभर प्रसिद्धि कमाएको लमजुङमा टुप्पो मर्ने रोगका कारण सुन्तलाको बोट विस्तारै मर्दै गएको किसानहरूले बताएका छन् । कृषि कार्यालयका प्राविधिकले सुन्तलाका बोटमा सिट्रस ग्रिनिङ्ग भाइरस रोग देखापरेको बताएका छन् ।

जिल्लाको एक हजार दुई सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा करिब ६ सय हेक्टर क्षेत्रफलमा मात्र सुन्तला उत्पादन हुँदै आएको छ । लमजुङको कुन्छा, दुराडाँडा, भोेर्लेटार, ईशानेश्वर, राइनास मोहोरियाकोट, तार्कुघाट, सिम्पानी, भुलभुले, गाउँशहर, भोँजेलगायतका स्थानमा सुन्तला खेती हुँदै आएको छ ।

यीमध्ये चिती र उदिपुरलाई कृषि विकास कार्यालयले नमुना पकेट क्षेत्र घोषणासमेत गरेको छ । नमुना क्षेत्र भनेर घोषणा गरिए पनि बाँझाखेत, सिम्पानी, दुराडाँडालगायतका क्षेत्रमा ग्रिनिङ भाइरसका कारण सुन्तलाको पूरै बोट मरेपछि उत्पादन नै शून्य हुने अवस्थामा पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।

रोग कीराका कारण सुन्तलाका बोट मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । चिती–२ स्याउतका सुन्तला किसान रमेशराज पन्तले रोगका कारण सुन्तला उत्पादन घट्दै गएको बताउनुभयो । बेसीसहर नगरपालिकाको उदिपुर ठूलो धिमिरेका किसान तिलकराज पन्तले पनि रोग कीराका कारण सुन्तलाका बोट मर्दै गइरहेको बताउनुभयो ।

कृषि विकास कार्यालयका अनुसार किसानहरूले पुरानो रूख हटाएर नयाँ बिरुवा रोप्न थालेका छन् । यस्तै पुरानो बगैंचा जोगाउनका लागि कार्यालयले बगैंचा स्याहार तथा व्यवस्थापनका कार्यक्रम गरेको कृषि योजना अधिकृत लालवीर चौधरीले बताउनुभयो । कृषि कार्यालयमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रमका लागि गतवर्ष १८ लाख ७३ हजार बजेट खर्च गरिएको थियो ।

लमजुङको सुन्तला काठमाडौँ, पोखरा, नारायणगढलगायतका बजारमा राम्रो खपत हुने गरेको छ । यसबाहेक लमजुङको सुन्तलाको बंगालादेशसम्म राम्रो माग हुने गरेको किसानहरू बताउँछन् । आजको यो खबर गोरखापत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।