0 COMMENTS
तीर्थराज अधिकारी

बनेर पर्दा कति रात आए ?

जाडो र गर्मी कतिले सताए ?
दुखेर छाती कति थर्थराएँ ?
म सिर्जनामा कति रम्न पाएँ ? १ ।

जुटाउनैमा कति अन्नपानी ?
मैले बिताएँ कति जिन्दगानी ?
नाता र गोता कति भेट्न धाएँ ?
म सिर्जनामा कति रम्न पाएँ ? २।

म दम्भ बोकी कति फत्फताएँ ?
बेहोस बन्दै कति मत्मताएँ ?
निलेर आगो कति छट्पटाएँ ?
म सिर्जनामा कति रम्न पाएँ ? ३।

कुचाल आए , कति छाल आए ?
ललाट गाल्ने कति काल आए ?
अखण्ड आभा कुन ज्ञान ल्याएँ ?
म सिर्जनामा कति रम्न पाएँ ? ४।

खाना र नाना कति गान गाएँ ?
खिचेर फोटो कति मुस्कुराएँ ?
छाना सजाई कति रंग लाएँ ?
म सिर्जनामा कति रम्न पाएँ ? ५।

स्वदेश निन्दा कति मान मानेँ ?
विदेश गाना कति शान ठानेँ ?
सन्तान माया कति मोह छाएँ ?
म सिर्जनामा कति रम्न पाएँ ? ६।

ज्वाला उठे , कम्पनले सताए
आँधी चले , त्रास अनेक छाए
लुकी- छिपी प्राण बलै बचाएँ
म सिर्जनामा कति रम्न पाएँ ? ७।

खाएर गाली कति मुर्मुराएँ ?
किटेर दाह्रा कति कट्कटाएँ ?
पाएर ताली कति फुर्फुराएँ ?
म सिर्जनामा कति रम्न पाएँ ?८।

खेली कतै जात र वर्ण पासा
खेली कतै लिंग र धर्म पासा
भूगोल , भाषा कति गोल खाएँ ?
म सिर्जनामा कति रम्न पाएँ ?९।

कपाल कालो नव-रंग छाएँ
चढी कतै मोटर खुस्बु छाएँ
सिक्री र औँठी कति सुम्सुम्याएँ ?
म सिर्जनामा कति रम्न पाएँ ? १०।

पढेँ , पढाएँ जति धाक लाएँ
लेखा नमिल्दा उति कर्कराएँ
उदार सत्कर्म कहाँ उदाएँ ?
म सिर्जनामा कति रम्न पाएँ ? ११।

गन्दै छु औँला कति वर्ष बाँचेँ ?
अनन्त फुल्ने कुन कर्म साँचेँ ?
विकार उन्माद विषाद गाएँ
म सिर्जनामा कति रम्न पाएँ ? १२।

(छन्द : उपजाति )

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।