0 COMMENTS
पिपला ढुंगाना

नारी-पुरुषमा जनेन्द्रिय मात्रै फरक हो उही होमोस्यापिन्स जातिको दुई सन्तानमध्ये एकलाई उन्मुक्त आकाश र अर्कोलाई घरको चौघेरो अनुचित हो
जति नै मन्थन र बहस गरे पनि फरक यौनांग मात्र हो । शक्ति र पहुँचको निम्ति तोकिएको सीमा रेखा होइन त्यो । प्रकृतिले सृष्टिलाई निरन्तरता दिन उत्पन्न गरेको दुई उत्पादक तत्व मात्र हुन्- पुरुष र नारी । धेरैपटक भनिने गरिएको एउटै रथका दुई पाङ्ग्रा हुन् यी नरनारी । तर हजारौं वर्षदेखि नर र नारी दुवैको ब्रेनवास गरिएका कारण महिलालाई ‘अर्कै मान्छे’ का रूपमा बुझिने गरिएको छ, तर अब त्यो स्वीकार्य छैन ।

मात्र फरक प्रजनन गुण र क्षमतालाई हामी कसरी उँचो र नीच भनेर अथ्र्याउन सक्छौं ? घरवार सम्हालेर बस्ने ट्याग लागेका ‘जात’ होइनौं हामी । हामी घरको झ्याल खोलेर सहर, गाउँ, गाउँभन्दा पारिको डाँडो, डाँडापारिका देश र देशभन्दा पर रहेका महासागर, त्यहाँभन्दा पनि परका सहर-गाउँ हेर्न चाहन्छौं । राजनीति र घरबाहिरको दुनियाँ पनि उत्तिकै चासो हो हाम्रो किनभने हामीले जन्माएका हौं संसारका सबै मान्छे ।

छिटपुट मान्छेबाहेक धेरैले सोच्छन्- आइमाई आखिर आइमाई नै हुन् । आमाहरू नै भन्छन्- हारेको कर्म । मैले कहिल्यै बुझिनँ, हामीले कहिले कहाँ हार्‍यौं ? काल्पनिक सत्ययुगमा समेत देवीहरू कमजोर देवगणका अन्तिम सामथ्र्य हुन्थे । उनीहरूकै सहायतामा देवगणले आफ्नो गुमेको सत्ता फिर्ता पाउँथे । ‘यत्र नार्यस्ते पुज्यन्ते, रमन्ते तत्र देवता’ अर्थात् जहाँ नारी पुजिन्छन्, त्यहाँ देवता रमाउँछन् भन्ने श्लोक पढ्ने हाम्रो पूर्वीय समाजमा भने अहिले गर्भमै नारीको हत्या हुनेसम्म घटना अति सामान्य भए । ‘महिलाले पनि यसो गर्न सक्छन् र उसो गर्न सक्छन्’, यो बहस नै उचित छैन अहिले । प्रश्न यति हो- उनीहरू के गर्न सक्दैनन् ?

तर पुरुष मात्रै होइन, महिला स्वयं पनि पितृसत्तात्मक सोचभन्दा बाहिर आउन सकिरहेका छैनन् । किनकि सस्ता नारा र प्रचारबाजीमा हाम्रो ‘समानता’ अघि बढेको छ । हामीले दिवस मनायौं तर हाम्रो ‘दिव्यज्ञान’ अघि बढेन । ‘जे-जे भए पनि आखिरमा त छोरी नै हो नि, महिला नै हो नि’ भन्ने चिन्तन फाल्न समर्थ भएन समाज । महिला स्वयंमा त्यस्तो ग्लानि भाव देखिनुको कारण हो हामीलाई बताइएको विचार र दिइएको शिक्षा । हामी यो विभेदको वैधता घरबाट मात्रै होइन, एकाधबाहेक सम्पूर्ण समाजका निकायबाट दिइरहेका छौं । दुनियाँ आज मान्दछ र जान्दछ- पुरुषको तुलनामा महिला कम विवेकशील छैनन्, तैपनि पुरुष र महिलाको बेग्लै विरासत किन ?

केही उदाहरण हेरौं वरपर । छोरो महँगो स्कुल पढ्छ, छोरीलाई सामान्य स्कुलले चल्छ । छोरीलाई निजी यातायातको साधन किन चाहियो ? छोराले सहजै बाइक पाउँछ । यहाँ त मायामै विभेद भयो । राजनीतिक दलका ठूला घोषणा हुन्छन् । केही समयअघि राष्ट्रिय दलका घोषणापत्र सार्वजनिक भए । दुईचार दलका त्यति महत्वपूर्ण कार्यक्रम हेर्न पाइयो मिडियामा । एउटा दलको मात्र त्यस्तो सार्वजनिक कार्यक्रममा एक महिला पुरुषहरूबीच बसेको देखिइन् । विचरा महिला ! महिलालाई कसरी ‘ट्रिट’ गरियो भन्ने कुरो त प्रत्यक्षतर्फ महिलाले पाएको टिकटले पनि देखियो ।

उदाहरण बग्रेल्ती छन् । पत्रिकामा नयाँ नेतृत्वको सन्दर्भमा एउटा स्केच छापियो । स्केच पुरुषको थियो, ठूलो शरीरको उसले टोपी र कोट लगाएको थियो । हाम्रो समाजले नेतृत्व भन्नेबित्तिकै भाले जातिलाई बुझ्छ । त्यो सबैको साझा चिन्तन हो । त्यसबाट पनि बुझिन्छ हामी मातृशक्तिलाई कसरी बुझछौं भन्ने कुरो ।

विकसित भनिने अमेरिका र बेलायतजस्ता देशमा पनि समता आन्दोलनको इतिहास उति पुरानो छैन । आज आफूलाई विश्वकै शक्तिशाली दाबी गर्ने अमेरिकाले पनि सन् १९२० मा मात्रै महिलालाई मतदानको अधिकार दिएको थियो । त्यसका निम्ति महिला र विवेकशील पुरुषहरूले संघर्ष गरेका थिए । बेलायतले सन् १९१८ मा मात्र महिला मताधिकारको मस्यौदा पारित गर्‍यो । सौभाग्य नै मान्नुपर्छ, हामीले कमसेकम भिन्न मताधिकारको सिकार हुनुपरेन ।
हामीकहाँ सबै खालको समता र न्यायका माग गर्दा राणाशासकले नसुनेपछि १९९८ सालमा योगमाया न्यौपानेजस्ता वीरंगनाले आआफ्ना ६७ जना अनुयायीलाई साथै लिएर जलसमाधि लिएकी थिइन् । सबै समाजमा न्याय र धर्म स्थापना गर्न नदीमा हेलिएर आफ्नो ज्यानको बलिदानी दिएर यस्तो खालको विद्रोह भएको उदाहरण संसारमा विरलै छ ।

समयको परिवर्तनसँगै कामकाजी महिलाको संख्यामा वृद्धि भएको छ, तर तिनका भूमिकामा झनै वृद्धि भएको छ । बच्चालाई स्कुल पुर्‍याऊ, कार्यालयको काम भ्याऊ, भान्छाकोठाका सामान जुटाऊ, गाईगोठका वस्तुका लागिसमेत समय छुट्ट्याऊ । यो हो आजको नेपाली नारीको जिम्मेवारीको चित्र । ज्यालादारी र तल्लो स्तरको श्रम गर्ने महिलाको हालत त अझ कल्पनासमेत गर्न नसकिने अवस्थामा छ ।
सबै जिम्मेवारी निर्वाह गर्दा पनि अनेक खालका प्रत्यक्ष-परोक्ष हिंसा नझेली सुख पाउँदैनन् तिनले । समान अवसर र ज्याला गफमा सीमित छ । कार्यालय स्तरमा हुने यौन दुव्र्यवहारलाई पचाउने धेरै नारी छन् अनि लोग्नेलाई कमाउँदाकमाउँदै किन काम गर्नुपरेको होला भनेर प्रश्न सोधिने थुप्रै दिदीबहिनी छन् । ‘महिला किन मर्द बन्न खोज्नु’ भनेर सोध्ने पनि हाम्रै दिदीबहिनी हुन् ।

अनि लाग्छ, महिलाले प्राप्त गरेको ज्ञान र शिक्षा केवल भान्सा, गोठबारी चलाउनको लागि मात्र हो ? हाम्रै दाजुभाइले चामल केलाएर भाँडामा हाल्न मिल्दैन ? तरकारी काट्दा तिनको अहम् काटिन्छ ? तरकारी ओइरिँदा उनीहरूको ज्ञान डढ्छ ? शिक्षित बुहारी र पत्नी चाहिने तर उनीहरूले आफ्नो जग बसाउन जागिर खान नपाइने ? यस्तो परनिर्भरता अब स्वीकार्य छैन । अब माइती र घरहरू महिलाको सक्रियतालाई लिएर तर्सिनु पर्दैन । महिला रोजगारले उल्टै परिवारको बोझ कम हुन्छ । उस्तै हाडछाला र रगतमासुले बनेका उही होमोस्यापिन्स जाति हौं हामी भनिसकेपछि एउटालाई उन्मुक्त आकाश र अर्कोलाई घरको चौघेरो अनुचित हो ।

नेपालको पहिलो लिखित संविधान २००४ ले नै सम्पूर्ण नागरिक समान हुने व्यवस्था गरेको थियोे । त्यस्तै नेपालको अन्तरिम शासन विधान २००७, नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९, मुलुकी ऐनको संशोधन २०२०, नेपाल अधिराज्यको संविधान २०४७ ले समानताको विषय सम्बोधन गर्दै सबै विभेद अस्वीकार गरेको छ । तर कानुन र करणीमा हाम्रो समाजमा गम्भीर खाडल छ, तर यस युगका दुर्गेहरूलाई सो स्वीकार्य छैन ।
नेपालको अन्तरिम संविधान २०६३ ले पनि समान हक र अधिकारको नारालाई आगाडि बढाएको र उक्त संवैधानिक व्यवस्थालाई पार गरेकै दशक नाघिसकेको मात्र छैन, यसबीचमा २०७२ सालमा देशको मुहार बदल्ने ठानिएको ‘नेपालको संविधान’ आएको छ । यसले पनि प्रस्तावनामा नै संविधान बन्नुअगाडि नागरिकले भोग्नुपरेका विभेदलाई आत्मसात गर्दै भविष्यमा यस्ता किसिमका विभेद भोग्नु नपरोस् अनि नदोहोरियून् भनी प्रस्तावनामै राखिएको छ । हिजोका दिनमा जातजाति, वर्ण, लिंग, वर्ग, क्षेत्र, भूगोलका साथै शारीरिक अवस्थाका आधारमा जुन विभेद र दलन भयो, अब त्यस्तो विभेद र दलन नहोस् भनेर प्रस्तावनामै उल्लेख गरिएको छ । संविधानको यो भावना र व्यवस्था उत्कृष्ट छ । त्यसरी लेख्नुको बृहत् अर्थ छ तर कार्यान्वयन नहुँदासम्म त्यो ‘लिखित’ मात्र हो ।

संवैधानिक व्यवस्थाले मात्र समानता स्थापित हुन्न । मेरो र तपाईंको घर, परिवार, समाज र राष्ट्रका मानिसको मनस्थिति बदलिनुपर्छ । त्यसको लागि सबैभन्दा बढी महिलाले नै संघर्ष, प्रयत्न गर्नुपर्छ र उदाहरण बन्नुपर्छ ।

७० वर्षको संहिताबद्ध कानुनको अभ्यास गरिरहँदा पनि समानताको कुरो उठाइनेबित्तिकै त्यसलाई मजाक बनाइनुले हाम्रो चेतनालाई ‘इन्डिकेट’ गरिरहेछ । यस्ता विधान र कानुनभन्दा माथि उठेर त्यसलाई व्यावहारिकतामा प्रयोग गर्नका लागि जुट्नुपर्छ र जुट्दैछौं किनकि झन्डैझन्डै शताब्दीको हाराहारीमा पुगेको समानताको आवधारणा आज पनि ज्यूँका त्यूँ हुनु लज्जास्पद हो ।

सार्वजनिक ठाउँहरूमा महिलाको उपस्थिति कम हुन्छ र त्यस्ता ठाउँमा कहिलेकाहीं चर्चा हुन्छ- महिलाले किन आरक्षण पाउने ? किन फलानो जातिविशेषले आरक्षण पाउने ? अवश्य पनि सम्पूर्ण अवसर दिइएको अवस्थामा आरक्षण बेकार हो । आरक्षण स्वयम्मा विभेद हो । तर हाम्रो सन्दर्भ विल्कुलै फरक छ । समाजको चिन्तनमा रहेको दरिद्रताका कारण त्यस्तो आरक्षण चाहिएको हो र आउँदो चुनावको प्रत्यक्षतर्फ महिलालाई गरिएको चरम विभेदलाई नियाल्दा महिलाको आरक्षण जबर्जस्त बढाउनुपर्ने देखिन्छ । यो त समाज र सत्ताको अंगमा प्रतिनिधित्वको विषय राजनीतिक विषय भयो ।

अब आफ्नै कुरा गरौं, हामीमध्ये कति नारी स्वभिमान र स्वतन्त्रताको लडाइँ लड्ने हिम्मत बटुलेर आफूलाई तयार पारिरहेका छौं, खारिरहेका छौं ? हाम्रा बा, दाइ र भाइजस्तै हामी बेग्लै हैसियत, पहिचान र अस्तित्व निर्माण गर्न कस्सिएर लागेमा, समाजले कोरिदिएको सिमाना अस्वीकार गर्दै त्यसबाट बाहिर निस्केमा मात्र हाम्रो स्वपहिचान स्थापित हुनेछ र हामी जे हौं, त्यसलाई स्विकार्न पुरानो समाज तयार हुनेछ । तर जबसम्म स्वतन्त्रता र समान अवसरका कसैसँग भिख मागिरहनुपर्छ तबसम्म हामी आत्मनिर्भर बन्न सक्दैनौं । जसरी समानुपातिकको कोटा पनि खोसिदिन्छन् दलका मुखियाहरूले भन्ने त्रासले केही स्वनामधन्य महिला नेतृहरू अहिलेको चुनावमा खुम्चिए । नेता र पार्टीको रैती र दास बन्ने यस्तो चरित्रले स्वभिमानको आन्दोलन कमजोर मात्र हुन्छ ।
हामीले भोगेको समय र समाजले हामीलाई सधैं भोगविलासको साधन ठान्यो । जबसम्म हामी आत्मनिर्भर र स्वतन्त्र बन्ने बाटोमा जाने हिम्मत गर्दैनौं, तबसम्म हाम्रो बाँकी पुस्ताको हैसियत त्योभन्दा माथि जानेवाला छैन । जबसम्म हामी टीका, पोते र शृङ्गारका सामान किन्नकै लागि बा, दाजु, र पतिमा आ िश्रत हुन्छौं, तबसम्म समानता असम्भव छ । परिवर्तन फगत सपना हुन्छ । परजीवी जुका भएर होइन, स्वतन्त्र कमिला भएर हामी समता स्थापित गर्न सक्छौं ।

नाम, सान मान र अभिमान लिएर समाजमा उभिने मात्र होइन, अग्लिने चाहना भएमा मात्र हामी योगमाया झैं हुन सक्छौं । सधैं उही ‘राम्री, सोझी, इमानदार, सहनशील’ को उपमा भिरेर ‘भरे स्वामीले खाना, नाना र चाचा’ लिएर आउनुहुन्छ भन्दै ऐनाअगाडि बसेर दंग परेर त्यो स्वाभिमान र स्वतन्त्रता प्राप्त हुन्न । महिला र पुरुषको सम्बन्ध शासक र शासितको होइन, त्यो सहकार्य र सम्मानमा आधारित सम्बन्ध हो । सभार अन्नपूर्ण पाेष्ट
लेखक कानुन विद्यार्थी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।