0 COMMENTS
करुणा कुँवर ,मनोविद

प्रायजसो युवा परिवार र आफन्तलाई केही राम्रो गर्न सकिन्छ कि भनेर विदेश गएका हुन्छन । तर सामाजिक र मनोवैज्ञानिक रुपमा परिवार सुरक्षित छन् छैनन् भन्ने कुरा चाहिँ उनीहरुले ख्याल गरेका हुँदैनन् ।कतिपय भर्खरै विहे गरेर वा साना बालबच्चा भएका श्रीमती छाडेर विदेश जान्छन् । जबकि त्यो बेला महिलाले श्रीमानबाट मनोवैज्ञानिक रसामाजिक सुरक्षा चाहन्छन् । त्यो कुरा नभइदिँदा बिस्तारै ती महिलालाई मलाई सुरक्षा गर्ने मानिस नै रहेनछ भन्ने लाग्न थाल्छ ।सँगसँगै हाम्रा सामाजिक सांस्कृतिक कुराहरु पनि छन् । कतिपय सासु ससुरा र अरु सदस्य भएका संयुक्त परिवारमा नै बस्छन् । परिवारका सदस्यहरुसित मनमुटाव हुनसक्छ । महिलाले विभिन्न लाञ्छनाको सामना गर्नुपर्ने हुन्छ । परिवारले गर्ने भेदभावका कारण परिवार छाडेर हिँड्ने समस्या पनि बढिरहेको छ ।

साथसाथै बुबा घरमा नभएको र आमाले राम्रोसँग हेरबिचार गर्न नसक्दा बालबच्चाले पढाईलाई पनि निरन्तरता दिन सकेका हुँदैनन् । कम उमेरमा विवाह गर्ने समस्या पनि देखिएको छ । महिला र बालबालिका रोगबाट ग्रसित भएको पनि पाइएको छ । त्यस्तो अवस्थामा उपचारका लागि पैसा धेरै खर्च हुन्छ ।विदेशमा भएका श्रीमानले उचित समयमा पैसा नपठाइदिने वा नपठाइदिने समस्या छ । फोनमा पनि कुराकानी नहुने । यस्ता खालका कुराहरुले नेपालमा भएका श्रीमती, बालबच्चा वा घरका अन्य सदस्यलाई पनि समस्या पर्छ ।

बच्चाका लागि आमाबुबा दुवै महत्वपूर्ण हुन्छन् । परदेश जानेले श्रीमती छँदैछे नि भनेर अरु कुरा ख्याल गर्दैनौं । एकजनाले हेरे भइहाल्यो नि भन्ने पनि हुन्छ । तर, घरमा समस्या पर्दा श्रीमानले जति छिटो समस्या समाधान गर्न सक्छ, श्रीमती नगर्न पनि सक्छ मानिसले भौतिक कुराको मात्रै आवश्यकताको आधार बनाएको छ । पैसा वा घर भयो भने सबै सुविधा हुन्छ भन्ने बुझेको हुन्छ । सुख सुविधाका लागि भौतिक अवस्था यौटा पाटो हुनसक्छ । तर मनोवैज्ञानिक रुपमा एकजना मानिसको उपस्थिती पनि उत्तिकै महत्वपूर्ण हुन्छ । एकअर्कालाई दिने समय भनेको पनि धेरै ठूलो लगानी हो ।कोही व्यक्ति विदेशमा छ भने उसले घरपरिवारलाई कहाँ, कति समयका लागि छाड्ने भन्ने ख्याल गर्नुपर्छ । घरपरिवारबाट आउन सक्ने लाञ्छनाका विषयमा पनि सोचबिचार गर्नुपर्छ । यी कुरा घरपरिवारमै बसेर छलफल गर्दा राम्रो हुन्छ । विदेश जानुअघि नै यस्ता कुराको तयारी भयो भने अहिले देखिएका समस्या आधा कम हुन्छन् ।

श्रीमान विदेश गएको गएको छ भने जन्मान्तर हुने नै भयो । विदेशमा काममा नै केन्द्रित हुनुपर्छ । पैसा कमाएर कसलाई पठाउने भन्ने कुरामा पनि अन्योल विदेशमा बस्नेहरुलाई हुन्छ ।५/६ वर्षसम्म विदेश बस्दा समयको अन्तर पनि त हुने भयो । त्यो समयअन्तरले धेरै कुरालाई प्रभाव पारेको हुन्छ । त्यसकारण परिवारमा द्वन्द्व भएको छ । धेरै किसिमका समस्याको सामना पुरुषले पनि गरिरहेका छन् । चिन्ताका कारण प्रगति गर्छु, सम्पत्ति जोड्छु भन्ने कुरा नै पूरा गर्न नसक्ने अवस्था हुन्छ ।

एउटा व्यक्ति अर्को व्यक्तिसित शारीरिक रुपमा नै टाढा रहन्छ भने उसले जीवनमा भएको समस्या या खुशीका कुरा बाँड्न पाइरहेको हुँदैन । उमेर बढिरहेको छ, बालबच्चा हुर्किरहेका छन् । तर एकअर्कामा कुरा बाँड्न नसक्दा आफ्नै श्रीमान वा श्रीमती पनि नौलो हुनसक्छ ।मान्छे नै फरक लागेपछि उसले गरेको कुराकानी पनि फरक जस्तो लाग्न थाल्छ । सँगै हुँदा कुराकानी भएपछि समस्या समाधान हुँदै जान्थ्यो । चारपाँच वर्षपछि सम्बन्ध सुधार गर्न खोजे पनि सुधार हुन मुश्किल हुन्छ । त्यै भएर वैदेशिक रोजगारीसित सम्बन्धित भएका व्यक्तिहरुमा आजकाल धेरै सम्बन्धविच्छेदका घटना भइरहेका छन् ।धेरै वर्षपछि भेट हुँदा आपसमा नौलो लाग्नु स्वभाविकै हो । नौलो हुन थालेपछि मनमुटाव सुरु हुन्छ । मनमुटाव सहित किन सम्बन्धलाई अघि बढाउने भन्ने कुराले पनि सम्बन्धविच्छेद हुने क्रम चाहिँ बढिरहेको छ ।

आत्महत्या विश्वमै जटिल विषय बनेको छ । व्यक्तिलाई दुःख भएको, मेरो जीवन नै के रहेछ र ? भन्ने महसुस हुन थाल्यो भने त्यसपछाडी धेरै कुरा हुन सक्छन् । मानिस निरास हुन थाल्छ । त्यसले आत्महत्याको अवस्थासम्म पुर्‍याउँछ ।यस्तो बेलामा घरपरिवारका सदस्य र साथीभाइले विचार गर्न सक्छन् । आत्महत्या गर्न खोज्ने व्यक्तिले आफूलाई मर्न मन लागेको कुरा कुनै न कुनै रुपमा भनिरहेका हुन्छन् । ह्या बाँचेर के छ र ? मलाई मर्न मन लाग्यो, जीवन के हो र ? भन्ने जस्ता कुराहरु कुराकानीका क्रममा उसले भनिरहेको हुन्छ ।कोही मानिस एक्लै बस्न थाल्यो, खाना राम्ररी खान सकेको छैन भने पनि उसको राम्रोसित ख्याल गर्नुपर्छ । त्यतिबेला विशेषज्ञसित सल्लाह सुझाव लिनुपर्छ । ढिला गर्न हुँदैन ।

विदेशमा बस्नेहरुले घरमा के कस्तो भइरहेको छ भन्ने कुराको विश्लेषण गर्नुपर्छ । कसैको कुरामा लागेर चाहिँ यो सही र उ गलत नभनिदिँदा सहयोग हुनसक्छ । घरका हरेक सदस्यसँग बाक्लो रुपमा कुराकानी गर्नुपर्छ ।छुट्टि मिलाएर चाँडो चाँडो घरपरिवारसित भेटघाटका लागि आउनुपर्छ । घर आएर पैसाको कुरा मात्रै नभएर आमाबाबु, श्रीमती, बालबच्चाका समस्यालाई समाधान गर्न आग्रसर हुनुपपर्छ । घरपरिवारका सदस्यबिचमा मनमुटाव भए मेरो कारणले त होइन भन्ने कुरामा सचेत हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।