धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा सहित रू १०लाख पुरस्कार

2017-08-02   समाचार

इलाम, १८ साउन०७४/ सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ ।त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् ।

नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २६३ नगरपालिकामध्ये धनकुटालाई सबैभन्दा सफा शहरका रूपमा पुरस्कृत गरेको हो ।

आव २०७३÷७४ को वार्षिक कार्यक्रमअनुसार फोहरमैला व्यवस्थापनमा विशेष योगदान पुर्याउने उत्कृष्ट तीनवटा नगरपालिकालाई सफा शहर पुरस्कार तथा सम्मान प्रदान गरिएको इलाम नगरपालिका प्रमुख महेश बस्नेतले बताउनुभयो ।इलाम नगरपालिका २०६९ सालमा ५८ वटा नगरपालिकामध्ये दोस्रो सफा शहर र २०७२ सालमा २१७ वटा नगरपालिकामध्ये तेस्रो सफा शहरका रूपमा पुरस्कृत भएको थियो ।

सौर्यबत्तीको काम शुरू

यसैबीच, सौर्यबत्ती जडानका लागि इलाम सदरमुकाममा पोल गाड्ने काम शुरू भएको छ ।इलाम नगरपालिकाको बजार क्षेत्रमा अव्यवस्थित रूपमा रहेको सडक बत्तीलाई व्यवस्थित गर्दै सौर्यबत्तीका लागि पोलिङ शुरू गरिएको हो ।शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय इलामले सघन शहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती जडान गर्न लागेको हो ।

इलाम नगरपालिकासँगको समन्वयमा शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले चालु आवको माघ मसान्तसम्ममा काम सक्ने गरी सौर्यबत्तीको काम थालेको डिभिजन कार्यालयका सन्तोष नेम्वाङले जानकारी दिनुभयो ।सौर्य बत्ती जडानका लागि सिप्रदी इनर्जीले भ्याटसहित रु एक करोड ८९ लाख ३२ हजारमा ठेक्का लिएको हो । इलाम नगरपालिकाको साविक वडा नं १, २ र ३ को मुख्य बजार क्षेत्रमा ३०० सम्म सौर्यबत्ती जडान गरिने कार्यालयले जनाएको छ ।